राष्ट्रिय झन्डा जलाएको गीतका गायक सहित ९ जना जना पक्राउ

होमल्याण्ड खबर

२०७७ भाद्र ३ गते, बुधबार १२:३३ मा प्रकाशित

काठमाडौँ । नेपालको राष्ट्रिय झन्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्‍न गायक सहित ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीतका गायक ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्ति रहेका छन् ।

उनिहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  र महानगरीय अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । गायक तामाङ भने कीर्तिपुरबाट पक्राउ परेका हुन् । दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो ।

‘देशद्रोही’ शीर्षक राखिएको गीत युट्युबमा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले कारबाहीका लागि प्रहरीको ध्यानाकर्षण गराएका थिए ।  बाहुन क्षेत्री समुदायलाई गाली गरिएको भिडियोमा राष्ट्रिय झन्‍डा समेत जलाइएको छ । गीतमा आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छन् । चार मिनेट २७ सेकेन्ड लामो भिडियोमा प्रधानमन्त्रीसहित नेताहरुको तस्बिर जलाइएको छ ।  बालबालिकादेखि युवासमेत भिडियोमा प्रयोग भएका छन् ।

विष्णु आधारभूत विद्यालय मकवानपुरमा खिचिएको भिडियो जातीय सद्‍भावविरुद्धका टेलिभिजन भाषणबाट सुरु गरिएको छ ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।