एसिड आक्रमणमा परेकाको निशुल्क उपचार गर्ने सरकारको घोषणा

होमल्याण्ड खबर

२०७७ भाद्र ३ गते, बुधबार २०:०० मा प्रकाशित

काठमाडौ । सरकारले एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३० गते विभिन्न १७ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क गर्न आग्रह गर्दै पत्राचार गरेको हो । एसिड आक्रमणका घटनाबाट पीडित भई अस्पतालमा औषधी उपचार गराउन आउने पीडित व्यक्तिहरुको अस्पतालबाट हुन सक्ने उपचार निशुल्क गर्ने व्यवस्था मिलाउन पत्रमार्फत अनुरोध गरिएको छ ।

संघीय संसदको कानुन न्याय तथा मानव अधिकार समिति, महिला समितिलगायतले एसिड आक्रमणका घटनाबाट पीडितको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका थिए ।

एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क हुने स्वास्थ्य संस्थाहरुमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल लगनखेल रहेका छन् ।

यस्तै, कोशी अस्पताल, नारायणी अस्पताल,भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, गजेन्द्र नरायण सिंह सगरमाथा अस्पताल सप्तरी, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क हुनेछ ।