१० जेष्ठ २०८३, आईतवार
सप्तरी । प्रदेश २ मा मास्क नलगाई हिँड्ने १ लाख २० हजार मानिस कारबाहीमा परेका छन् । कोरोना जोखिम कायम रहेका बेला मास्क नलगाई हिँड्नेको संख्या बढेपछि प्रहरीले कडाइ गरेको हो ।
लकडाउनको सुरुवाती समयमा प्रहरीले मास्क नलगाउनेलाई सम्झाइ बुझाई गर्दै आएको भएपनि अटेर गरेपछि कारवाही थालिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।मास्क नलगाउनेलाई प्रहरीले आर्थिक कारबाहीसमेत गरेको उनले बताए । उनले मास्क नलगाउनेलाई गरिएको कारबाहीबाट ५६ लाख रुपैयाँ राजस्वसमेत संकलन भएको बताए । मास्क नलगाउनेबाट एक सय रुपैयाँ जरिवाना लिइएको थियो ।


प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा रुपमा देखिएको छ । कोरोनाविरुद्धको लडाइँ साँझा भएको भन्दै डीआईजी सिंहले स्वयं सबैभन्दा बढी जिम्मेवार बन्न जरुरी रहेको बताए । डीआईजी सिंहका अनुसार मास्क नलगाउनेविरुद्ध प्रहरी सक्रिय भएपछि अहिले मास्क प्रयोग गर्नेको संख्या बढेको छ ।