९ मंसिर २०८१, आईतवार
काठमाडौं । बिहीबार उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु बन्द भएका छन् । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि उपत्यकका सबै बैंकका शाखाहरु बन्द भएका हुन् । यससँगै अतिआवश्यक सेवा अन्तर्गत पर्ने बैंकिंङ्ग सेवा बन्द भएपछि सेयर कारोबार पनि अफ्ठ्यारोमा परेको छ । बैंक नै बन्द भएपछि सेयर कारोबार राफसाफ गर्न ग्राहो हुने ब्रोकर्सहरु बताउँछन् ।स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बैंक बन्द हुँदा सेयर काराेबार रोकिँदैन तर सेयर राफसाफकाे काम रोकिने बताएका छन् ।
‘आज जस्तै बैंक नै खुलेन भने राफसाफको लागि रोकिन्छ । बैंक पनि आज एकदिनको लागि बन्द भएको होला । भोलिदेखि खुल्लान् ।’, उनले विकासन्युजसँग भने ।‘हामी त कहिल्यै पनि काराेबार बन्द नगर्ने भन्नेमा छौं । क्लियरिङ्ग बैंकले पनि कारोबार नरोकिने, कारोबार हुन्छ नै भनेको छ । त्यसैले खुल्छ पनि होला ।’, अध्यक्ष रानाभाटले भने ।यद्यपि अन्य ब्रोकरहरुले भने यस्तो अवस्थामा कार्यालय खोल्न गाह्रो भएको बताएका छन् ।
बैंक बन्द भयो भने सेयर कारोबार नहुने ब्रोकर्स एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी बताउँछन् । सेयर किन्नेबाट पैसा नपाएपछि बेच्नेलाई पैसा हाल्न नसकिने भएपछि सेयर काराेबार गर्न गाह्राे हुने उनले बताए ।
भोलिदेखि नआउनु भन्ने चेतावनीका साथ बिहीबार कार्यालय पुगेको बताउँदै उनले विकासन्युजसँग भने- ‘आज एकदमै अफ्ठ्यारोसँग आईयो । अफिसमा २/३ जना कर्मचारी आएका छन् । कम्तिमा ४/५ जना कर्मचारी नआई काम हुन सक्दैन । बैंक नै बन्द भयो भने सेयर कारोबार हुँदैन ।’
बिहीबार भने अनलाइनबाटै सेयर कारोबार भइरहेकाे छ ।