काठमाडौँको कागेश्वरी नगरपालिका सिल

होमल्याण्ड खबर

२०७७ भाद्र ६ गते, शनिबार १४:०३ मा प्रकाशित

काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित खहरे–वीरेन्द्रचोक क्षेत्र सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिका ३२ को सीमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक (जगतजंग मार्ग) सम्मको क्षेत्रमा निषेध गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

संक्रमित पुष्टि भएको बस्तीमा थप संक्रमण फैलिन नदिनको लागि आज नगरप्रमुख थापासहित वडा अध्यक्ष, काँडाघारी प्रहरी प्रभागका प्रमुख, नगर प्रहरी र स्थानीयवासीको संयुक्त पहलमा खहरेचोकदेखि गान्धी स्कुल हुँदै बीरेन्द्रचोक (जगतजंग मार्ग) सम्मको बाटोमा प्रबेश निषेधको सूचना जारी गरिएको छ ।

नगरप्रमुख थापाका अनुसार कागेश्वरी मनोहरामा अहिलेसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएक छन् । वडा नम्बर ९ मा हालसम्म ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै नगरप्रमुख थापाले संक्रमितको संख्या बढदै गएपछि नगरपालिकाभित्र कोरोना परीक्षण दायर पनि बढाइएको बताए ।