१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । कोरोना संक्रमणको दर बढ्दै गएपछि विभिन्न जिल्लाले निषेधाज्ञा तथा लकडाउन थप गरेका छन् ।
कास्कीमा भदौ २ गतेदेखि जारी भएको निषेधाज्ञा ५ दिन थप गरेको छ । जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा भदौ १२ सम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ ।


यस्तै धनुषामा भदौ १४ गतेसम्म निषेधाज्ञा बढाइएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले निषेधाज्ञाको समय बढाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । यसअघि ३२ साउनमा बसेको बैठकले भदौ ७ गतेसिम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो । तर कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
यस्तै कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा तेस्रो पटक निषेधाज्ञाको समय थप गरिएको छ । एक साताका लागि थपिएको निषेधाज्ञा आगामी भदौ १४ गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
यस्तै कपिलवस्तुमा थप ८ दिन निषेधाज्ञा थपिएको छ । यसअघि जारी गरेको निषेधाज्ञा आइतबार राति १२ बजे सकिन लागेपछि थप एक साता थपिएको हो । आइताबार बसेको बैठकले निषेधा ज्ञालाई भदौ १५ गते राति १२ बजेसम्म लम्बाएको हो । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा हालकै लकडाउन यथावत राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ । यद्यपि बैंक तथा वित्तीय संस्था भने बिहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खुलाउन सकिने प्रशासनले स्पष्ट पारेको छ ।