विदेशबाट फर्किदा कोरोनाको नेगेटिभ रिर्पोट भए सिधै घर पठाइने

होमल्याण्ड खबर

२०७७ भाद्र ९ गते, मंगलवार ०९:२८ मा प्रकाशित

काठमाडौँ।संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आउनेहरु होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताएका छन्।

सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले नेपाल आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ। विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण भए सिधै घर जान पाउने बताएका हुन्।

कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईको भनाइ छ।

‘पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ’ उनले भने ।

पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ । विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए ।