के विद्युत प्राधिकरणमा पुनः घिसिङ नै दोहोरिएका हुन् ?

होमल्याण्ड खबर

२०७७ भाद्र ९ गते, मंगलवार १८:३९ मा प्रकाशित

काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबुकमा  सर्वसाधारणदेखि लोकप्रिय कलाकारहरुलेसम्म कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएको भन्दै बधाई दिइरहेका छन् ।

धेरैले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको भन्दै मन्त्रिपरिषद्लाई पनि धन्यवाद दिइरहेका छन् ।

कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुखमा पुनः निरन्तरता दिने निर्णय गरेको छ, सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन ।’

यस्तै, कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले पनि साेही खालको स्टाटस राखेका छन् । उनले भनेका छन्, ‘आज बस्ने मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुखमा निरन्तरता दिने निर्णय गरेको सुन्न पाइयोस् ।’

यसरी सर्वसाधारण र विभिन्न कालाकारहरुले घिसिङको पक्षमा बोल्दै उनलाई नै विद्युत प्राधिकरणमा निरन्तरता दिनु पर्ने आवाज उठाइरहेका छन् ।

कलाकारहरुले  सामाजिक सञ्जालमा दवाव दिएर कुलमानलाई नै दोहोर्याउन माग गरिरहेका छन् । यथार्थमा भने उनी अहिलेसम्म प्राधिकरणको प्रमुखमा पुनः नियुक्त भएका छैनन् । आज बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख नियुक्त गर्ने सम्भावना भने बढी नै छ ।