१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । काठमाडौंको मनमैजुमा चक्कु प्रहार गरी १ जनाको हत्या गरेका अभियुक्तबाट प्रहरीमा कोरोना भाइरस सरेको छ ।
गत साउन ३० गते राति ३–४ जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङको चक्कु प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्नमध्ये ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये आङदोर्जे शेर्पामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।


पक्राउ परेको शेर्पामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई पक्राउ गरेर राखिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी अधिकृत र कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गरी परीक्षणका क्रममा महाराजगञ्ज बृत्तका ३० जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरोना भाइरसको संक्रमण देखिएकामध्ये २ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पनि छन् । उनीहरुलाई अहिले छुट्टै आइसोलेसनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।
हालै मात्र महानगरीय प्रहरी बृत्त जनसेवा र ट्राफिकमा कार्यरगत गरी २० जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
कोरोनाको संक्रमणसहित लक्षण देखिएकाहरुको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । लक्षण नदेखिएका संक्रमित प्रहरीहरुलाई भने आइसोलेसनमा राखिएको जनाइएको छ ।