१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । कोभिड–१९ को नियन्त्रणका लागि गठित संसदीय उपसमितिले आन्तरिक कार्यविधि पारित गरेको छ ।
समिति सभापति जयपुरी घर्तीको सभापतित्वमा आज बसेको पहिलो भर्चुअल बैठकले उपसमितिको आन्तरिक कार्यविधि पारित गरेको हो । कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गत भदौ ९ गते उपसमिति गठन गरेको थियो ।


सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उक्त ७ सदस्यीय उपसमितिको आजको बैठकमा संयोजक सहित सांसदहरु अञ्जना विशुंखे, तिलकबहादुर महत क्षेत्री, सरिता न्यौपाने, नमिता चौधरी, सन्तकुमार थारु र उपसमितिका अधिकृत अमित यादवको उपस्थिति रहेको थियो । बैठकले उपसमितिको आन्तरिक कार्यविधि, २०७७ छलफल गरि बहुमतले पारित गरेको हो ।
कार्यविधि अनुसार उपसमितिले संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गतका देशभरिका जुनसुकै क्षेत्रहरुमा कोभिड–१९ को सम्बन्ध आवश्यक अनुगमन गरि समिति मार्फत निर्देशन दिनसक्नेकुरा उल्लेख गरिएको छ ।
त्यस्तै उक्त बैठकले आगामी अनुगमनका योजनाहरुका बिषयमा सामान्य छलफल गरि अनुगमनमा जानुभन्दा अगाडि विभिन्न कागजात तथा बिवरणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट झिकाउने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोभिड–१९ को सम्बन्धमा गरेका निर्णयहरु, जारी गरेका निर्देशिका तथा मापदण्डहरु , संचालनमा रहेका आइसोलेसन सेन्टर तथा पिसिआर ल्याबका बिबरण ३ तीनभित्र झिकाउन समिति सचिवालयलाई निर्देशन दिएको छ । सोही बमोजिम सचिवालयले आजै मन्त्रालयमा पत्राचार समेत गरेको छ ।
माग गरेको विवरण प्राप्त भए पश्चात् उपसमितिको अर्को बैठक तत्कालै बसि आगामी अनुगमनको योजना तय गर्ने कुरा संयोजक जीवनराम श्रेष्ठले बैठकमा जानकारी गराएका थिए ।