उपचारमा खटिएका कर्मचारीलाई अवरोध गर्नेमाथि कारवाही गर्न निर्देशन

होमल्याण्ड खबर

२०७७ भाद्र १३ गते, शनिबार १५:११ मा प्रकाशित

काठमाडौं । कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।

महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुव्र्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

कसैले अवरोध गर्ने प्रयास गरेमा गृह मन्त्रालयको टोल फ्रि नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्न प्रवक्ता चक्रबहादुरले सरोकारवाला सबैमा आग्रह गर्नुभयो । उजुरीकर्ताको विवरण गोप्य राखिने समेत उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासीको नाममा केहि व्यक्तिहरुले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटिएका ब्यक्तीहरूलाई दुव्र्यवहार गरेपछि यस्तो निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ ।

विरामीको उपचार खटेका वा महामारी नियन्त्रणमा लागेका जोकोहीलाई सम्मान तथा उत्प्रेरित गर्नुपर्नेमा केही व्यक्तिहरूले उल्टै धम्की दिने, घर घेराउ गर्ने गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।