१० जेष्ठ २०८३, आईतवार
काठमाडौंःप्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । आइताबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी कै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सीसीएमसीका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बसेका थिए । उनिहरु आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, हिजोको मन्त्रिपरिषद बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित भएका थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।


मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिएका हुन् । भारतीय गृहमन्त्री अमित शाहलाई समेत कोरोना संक्रमण देखिएको र कतिपय प्रान्तमा मन्त्रीकोसमेत मृत्यु भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।