१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ नै पुनः नियुक्त हुने सम्भावना बढेको छ । यसअघि घिसिङलाई सामाजिक सञ्जालले पुनः नियुक्त गरेको भन्दै सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक कार्यक्रममै व्यंग्य गर्नुभएको थियो । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली घिसिङलाई दोहोर्याउने विषयमा अझै सकरात्मक हुनुभएको छैन ।
तर उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले भने प्राधिकरणका कार्यकारी प्रमुखमा घिसिङलाई निरन्तरता दिनेगरि अन्तिम तयारी गर्नुभएको छ । मन्त्री पुनले आइतवार बसेको मन्त्रिपरिषद बैठकमै पेश गर्ने गरि उक्त प्रस्ताव तयार पार्नुभएको स्रोतको भनाइ छ । तर आइतवारको बैठकमा प्रस्ताव पेश भए नभएकोबारे भने केही बताइएको छैन ।


घिसिङको ४ वर्षे कार्यकाल यही भदौ २९ गते सकिदैछ । घिसिङको पक्षमा जनमाहोल देखेपछि सरकार उहाँलाई निरन्तरता दिने पक्षमा पुगेको हो ।
मन्त्री पुनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि घिसिङलाई निरन्तरता दिनेबारे छलफल गर्नुभएको छ ।
दाहाल सुरुदेखि नै घिसिङलाई निरन्तरता दिनुपर्ने पक्षमा रहनुभएको छ । घिसिङ लोडसेडिङ अन्त्य गरेको जस एक्लै लिन खोजेको र सरकारलाई जस नदिएको भन्दै प्रधानमन्त्री ओली उहाँसँग असन्तुष्ट रहनुभएको छ ।
तर पछिल्लो समय भने घिसिङ आफैं पनि बालुवाटार र खुमलटार पुगेर आफ्नो पक्षमा लबिङमा लाग्नुभएको छ । यसले गर्दा पनि घिसिङलाई निरन्तरता दिन प्रधानमन्त्री ओली केही सकरात्मक हुनुभएको स्रोतको भनाइ छ ।
माहोल पनि घिसिङकै पक्षमा देखिएको छ भने विज्ञहरुले पनि उनलाई निरन्तरता दिन आवाज उठाईरहेका छन् ।