९ मंसिर २०८१, आईतवार
काठमाडौं । उपत्यकामै सबैभन्दा बढी ट्राफिक जाम हुने कोटेश्वर—जडिबुटी सडकखण्ड ८ लेनमा विस्तार गर्ने काम शुरु भएको छ । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
दक्षिणतिर दुई लेन र उत्तरतिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम शुरु भएको हो । दुई लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बीचका ४ लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो । सबैभन्दा बढी जाम हुने क्षेत्रमा विस्तारपछि यातायात सहज हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले बताउनुभयो । पूर्ण रुपमा जाम नियन्त्रण गर्न नसकिएपनि २५/३० प्रतिशत जाम कम गर्न सकिने उहाँले बताउनुभयो । सडक विभाग अन्तरगत काठमाडौं डिभिजनबाट सडक विस्तारको काम शुरु भएको हो । ४/६ महिनाभित्र सम्पन्न हुने गरी काम शुरु भएको उल्लेख गर्दै उहाँले जडिबुटी क्षेत्र आसपासमा रहेका निजी क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने बताउनुभयो ।
सार्वजनिक यातायातमा जीपीएस जडान र इटिकेटिङ सिस्टम लागू गर्ने गरी नीति तर्जुमा भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले शतप्रतिशत जाम कम गर्न नसकिए पनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि हुने दाबी गर्नुभयो । भक्तपुर पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था नहुने उहाँले बताउनुभयो ।