१० मंसिर २०८१, सोमबार
बढी आम्दानी गर्नकै लागि निश्चित रुटमा गाडी नचलाउने भाडाका सवारीलाई ललितपुर ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ ।
ललितपुरको गोदावारी क्षेत्रमा चल्ने अधिकांश माइक्रोबसहरुमा गोदावारीदेखि रत्नपार्कसम्म सवारी चलाउने रुट परमिट रहेको छ । तर, उनीहरुले आफ्नो फाइदाका लागि गोदावारीदेखि लगनखेलसम्म मात्र सवारी चलाउने गरेका छन । जसले गर्दा यात्रु हरुले सास्ती भोग्नु परिरहेको छ ।
‘३०–३५ किलोमिटर टाढा रहेको धुलिखेलसम्म एउटै गाडी चल्ने तर रत्नपार्कबाट १६ किलोमिटर मात्र टाढा रहेको गोदावारी पुग्न भने दुईवटा गाडी चल्ने अवस्था छ,’ लतिलपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले भने ।
यात्रुहरुको गुनासोपछि सो रुटमा चल्ने सवारीसँग सोधपुछ र चेकजाँच गर्दा अधिकांश भाडाका सवारीसँग रत्नपार्क–गोदावरीको रुट परमिट भएको फेला पारेको हाछेथुले जानकारी दिएका छन ।
यो खुलासासँगै ललितपुर ट्राफिक प्रहरीले परमिट भएका ४७ वटा भाडाका सवारीलाई आइतबारबाट रत्नपार्क–गोदावारी सिधा रुटमा गाडी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । अन्यथा ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।
हाल गोदावारीबाट रत्नपार्कसम्म जान सर्वसाधारणले दुईवटा गाडी परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । उनीहरु गोदवारीबाट लगनखेल आएर लगनखेलबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता रहेको छ । रत्नपार्कबाट आउँदा पनि यही बाध्यता रहेको छ ।
यसले गर्दा यात्रुले कहिलेकाहीँ आधा घण्टासम्म पर्खनुपर्ने बाध्यता रहेको छ भने सामान बोकेकाहरु, महिला, बृद्धबृद्धा र बालबालिकाहरुलाई समस्या हुने गरेको छ ।