१० जेष्ठ २०८३, आईतवार
काठमाडौं।काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ । उपत्यकामा कोभिड–१९ संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाका विषयमा छलफल भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा मोडालिटी केही परिवर्तन गर्ने विषयमा छलफल भएको थियो ।


सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था नियमित सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप नघटेको उनिहरुको निष्कर्ष छ । उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् ।स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् ।
भदौ ३ गते देखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरिएको थियो । तर भदौ १० मा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । उक्त निषेधाज्ञा आज मध्यरातिबाट सकिँदैछ । सोहि कारण निषेधाज्ञाबारे निर्णय गर्न आज पुनः बैठक बसी मोडालिटी तय गरेर गृह मन्त्रालयमा पेश गर्ने निर्णय भएको छ । यसबारे अन्तिम निर्णय भने आज गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि हुनेछ ।