१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः काठमाडौं उपत्यकामा आज (बुधबार) राति १२ बजेदेखि निषेधाज्ञा हट्ने भएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
बैठकले भोलिदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ । सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए । उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए । स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको उनको भनाई छ ।


यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ ।
उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पहिलोपटक भदौँ ३ गते देखि निषेधाज्ञा जारी गरेका थिए ,त्यस्तै दोस्रो पटक भदौ १० र १७ गते निषेत्राज्ञा थप गरिएको थियो ।