१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः आजका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भोलि बस्ने बैठकका लागि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएपछि बैठक भोलिका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्ने तयारी भएको थियो । मन्त्रिपरिषद्को आगामी बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुने जनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरिसकेका छन् ।


मन्त्री पुनले हालका लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।
मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने तयारीसमेत गरेको जनाइएको छ ।