प्याजको मूल्य दोब्बर, बजारमा ७० रुपैयाँभन्दा सस्तो छैन तरकारी

होमल्याण्ड खबर

२०७७ भाद्र ३१ गते, बुधबार १२:१० मा प्रकाशित

काठमाडौं । पछिल्लो समय दैनिक विभिन्न सामानको मूल्य बढ्दै गएको छ । दैनिक उपभोग्य सामानको मूल्य बढ्दै गएपछि सर्वसाधारणलाई समेत चुल्हो बाल्न कठिन हुने देखिन्छ ।

दैनिक उपभोग्य सामानको मूल्य दैनिक बढ्दै गएपछि नेपाली भान्सा समेत महँगो हुने निश्चित छ । आज मात्रै नेपालमा प्याजको मूल्य दोब्बरले बढेको छ । छिमेकी मुलुक भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि यसको मूल्य महँगो पर्न गएको हो ।

अहिले बजारमा ७० रुपैयाँभन्दा सस्तोको सामान पाइँन छाडेको छ । कालीमाटी तरकारी बजारमा केही सामानको मूल्य ७० रुपैयाँभन्दा कम भएपनि खुद्रा बजारमा त्यो अवस्था छैन ।

भारतले प्याज निर्यातमा हिजो प्रतिबन्ध लगाएको बताएको थियो । प्रतिबन्द लगाएको दोस्रो दिन अर्थात आजै नेपालमा अघिल्ला दिनहरुभन्दा दोब्बरले बढेको हो ।

कालिमाटी थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ४४ रुपैयाँले बढेको छ । बुधबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ११९ रुपैयाँ पुगेको छ । यो मूल्य मंगलबारको तुलनामा करिब ६० रुपैयाँ बढी हो । मंगलबार नेपाली बजारमा प्याजको मूल्य ६० रुपैयाँमा किनबेच भइरहेको थियो ।

थोक बजारमै प्याजको मूल्य बढेर प्रतिकेजी १२० पुगेपछि खुद्रा बजारमा न्यूनतम १३० देखि १५० रुपैयाँसम्म किनबेच भइरहेको छ । सोमबार मात्रै भारतले प्याजको निर्यात सम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएको हो ।

प्याज मात्रै होइन पछिल्लो समय विभिन्न सामानमा मूल्य बढ्दै गएको छ । हरियो सागको मूल्य पनि पछिल्लो समय बढ्दै गएको छ ।

आज प्रतिकेजी टमाटरको मूल्य ९५, आलुको मूल्य ९४, लसुन १६५, हरियो अकबरे खुर्सानी २९५ रुपैयाँमा थोक मूल्यमा किनबेच भइरहेको छ भने खुद्रा मूल्य झन महँगोमा किन्नु पर्ने बाध्यता बनेको छ ।