आजदेखि अधिकमास शुरु, मत्स्यनारायणमा एक महिने मेला

होमल्याण्ड खबर

२०७७ आश्विन २ गते, शुक्रबार ११:५१ मा प्रकाशित

काठमाडौं । आजदेखि शुरु भएको अधिकमास वा पुरुषोत्तममास असोज ३० गतेसम्म रहनेछ । यस अवधिमा नियमितबाहेकका साइत हेरी गरिने शुभकर्म तथा अनुष्ठान गर्न नहुने मान्यता छ ।

अधिकमासकै कारण यस वर्षको बडादशैं एक महिनापछि सरेर कात्तिकमा परेको हो । नेपालमा सूर्यगणना र चन्द्रगणनाको आधारमा बनाइएको पञ्चाङ्ग प्रचलित छ । सूर्यमान अनुसार वर्षमा तीन सय ६५ दिन, १५ घडी, ३१ पल र ३० विपल हुन्छ भने चन्द्रमान अनुसार तीन सय ५४ दिन, २२ घडी, १ पल, २३ विपल हुने गर्छ । चान्द्रवर्ष सौरवर्षभन्दा १० दिन, ५३ घडी, ३० पल, ७ विपल कम हुनाले वर्ष सामञ्जस्यका गर्दा हरेक तीन वर्षपछि अधिकमास पर्ने गर्दछ । सिद्धान्तशिरोमणिका अनुसार चान्द्र महिनामा सूर्य संक्रान्ति परेन भने अधिकमास हुन्छ र चान्द्रमासमा दुई सूर्यसंक्रान्ति परेमा क्षयमास हुन्छ ।

यस वर्ष असोज शुक्लपक्ष र कृष्णपक्षको अवधिमा सूर्यसंक्रान्ति नपरेकाले अधिकमास हुन गएको हो । क्षयमास भने संवत् दुई हजार एक सय ८१ मा पर्ने जनाइएको छ । अधिकमासका स्वामी पुरुषोत्तम वा भगवान विष्णु रहेकाले अधिकमासलाई पुरुषोत्तम मास भन्ने गरिन्छ । यस अवधिमा भगवान विष्णुको पूजा गरी अपुप (मालपुवा) दान गर्ने चलन छ । अधिकमासमा काठमाडाैंको कीर्तिपुरमा अवस्थित मत्स्यनारायण मन्दिरमा एक महिने मेला लाग्दछ ।