१६ श्रावण २०८३, शनिबार
काठमाडौं । कोरोनाका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयलेका परीक्षाहरु छठपछि सञ्चालन गर्ने तयारी गरिएको छ ।
परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ ।


त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय भदौको दोस्रो हप्तादेखि परीक्षा सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी थियो । तर देशका संक्रमितको संख्या बढेसँगै तोकिएको परीक्षाहरु सञ्चालन हुन सकेन ।
त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा गएको चैत ७ गतेदेखि स्थगित छन् ।
छठपछि परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउँछन् ।
छठलगत्तै परीक्षा गर्नका लागि दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्राचार गरिसकेको उनले जानकारी दिए ।
सम्बन्धित कार्यालयले पनि आवश्यक तयारी थालिसकेको उनको भनाइ छ । घर पायक पर्ने ठाउँमा नै परीक्षा दिन पाउने व्यवस्था गरिएकाले भर्चुअल माध्यमबाट परीक्षा नहुने उनले बताए। परीक्षा नियन्त्रक जोशी भन्छन्, ‘भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको छौँ ।’
जोशीका अनुसार फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अरु परीक्षा सञ्चालन गरिने बताए ।