सरकारद्वारा नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्त

होमल्याण्ड खबर

२०७७ आश्विन ११ गते, आईतवार १५:४२ मा प्रकाशित

काठमाडौंः सरकारले कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान अकस्मात बोलाएको मन्त्रिपरिषद बैठकले भण्डारीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्तियारी दिएको छ।

मन्त्रिपरषद बैठकले अन्य केही निकायमा पनि नियुक्ती गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। अन्यदिन सोमबार बस्दै आएको मन्त्रिपरिषदको बैठक आइतबार नै बोलाइएपछि अन्य केही गम्भीर निर्णय हुनसक्ने अपेक्षा गरिएको थियो। पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मन्त्रिपरिषद पूनर्गठन गर्ने सहमति भएकाले आइतबारको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा निर्णय हुनसक्ने अपेक्षा गरिएको थियो।

सत्तारुढ नेकपाको सुझावअनुसार मन्त्रिपरिषद् हेरफेर गर्नुअघि ओलीले बैठक बोलाइएको चर्चा भए पनि मन्त्रिपरिषद्‌ बैठकमा त्यसबारे कुनै छलफल नभएको महिला बालबालिका तथा सामाजिक विकास मन्त्री पार्वत गुरुङले जानकारी दिए।

उनले भने, ‘आज त्यस्तो विशेष एजेण्डा केही थिएन। केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु भएका छन्।’

मन्त्रिपरिषद् बैठकअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

मन्त्रिपरिषद् पुनः गठनबारे ओली-दाहालबीच केही दिनयता लगातार छलफल हुँदै आएको छ।