१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच आज वार्ता हुने भएको छ ।
सरकारकातर्फबाट शिक्षासचिव गोपी मैनाली र डा. केसीकोतर्फबाट डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच हिजो (बिहीबार) दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको थियो । केही बुँदामा थप गृहकार्य गर्नुपर्ने भएकाले आज बस्ने गरी हिजोको वार्ता टुङ्गिएको थियो ।


आज सरकार र डा.केसीबीच सहमति हुने सम्भावना रहेको स्रोतले बताएको छ ।
केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ –६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् ।
डा. केसीको अनसनको २४ औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो । तर वार्ता समिति बनेको दोस्रो अर्थात अनसनको २५ औँ दिनमा मात्र सरकारले वार्ता सुरु गरेको हो ।
सरकारकातर्फ शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सरकारी वार्तामा टोलीमा छन् ।
डा. केसीकोतर्फबाट वार्ता टोली संयोजक डा. जीवन क्षेत्री, डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की सहभागी रहेका छन् ।