हिन्दु धर्मावलम्बीहरूको महानपर्व बडा दसैं सुरु, घरघरमा घटस्थापनागरी जमरा राखिँदै

होमल्याण्ड खबर

२०७७ कार्तिक १ गते, शनिबार ०६:४४ मा प्रकाशित

हिन्दु धर्मालम्बीहरूकाे महानपर्व बडा दसैं अा(शनिबार) देखि सुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज शनिबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको महान पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ ।घटस्थापनाको दिन पूजा कोठा, दसैंघर अथवा कोतमा दीयो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । आइतबार घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरी माथिपट्टि आँप चाप वा वर पीपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।

कलशको स्थापना गरी नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा वा माटोमा जौ छरिन्छ । ‘बिहानै उठेर नुहाई धुवाई गरी चोखो भएर पूजा कोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ ।
नवदुर्गा भवानीको १० दिनसम्म पूजा गर्ने गरिन्छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ ।यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिशेक पनि लिने चलन छ ।

यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ । नौ दिनसम्म महाकाली, महादुर्गा र महाभवानीको आराधना र पूजाअर्चना गरी विजया दशमीका दिन टीका र जमराको प्रसाद ठूलाबडा र पुरोहितबाट ग्रहण गरिन्छ । दसंैको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा लिने गरिएको छ ।