डेरावाललाई डरैडर- घरबेटीले निकाल्छन् भनेर जचाउँदैनन्, संक्रमण भए पनि लुकाउँछन्

होमल्याण्ड खबर

२०७७ कार्तिक २ गते, आईतवार ०९:०८ मा प्रकाशित

काठमाडौं । सरकार भन्छ– ‘बेहोस हुन लागे मात्र अस्पताल जानुहोस् ।’ कोरोना संक्रमितको संख्या बढ्दो छ। तिनलाई धान्न पुग्दो अस्पताल पनि छैनन्। त्यही भएर अधिकांशले घरलाई नै आइसोलेसन बनाइरहेका छन्।

आफ्नै घर हुनेका लागि त यसमा गाह्रो भएन। यसको मारमा परेका छन्– डेरा गरेर बस्नेहरू। घरबेटीलाई सुनाऔं, बस्न÷पस्न नदिने डर। त्यही भएर प्रस्टै लक्षण भए पनि अधिकांश डेरावाल जँचाउन जान हिचकिचाइरहेका छन्। जँचाएर पोजिटिभ रिपोर्ट आउनेहरू चुपचाप भित्रै बसिरहेका छन्।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५३ हजार ६ सय ८९ पुगेको छ। जसमध्ये काठमाडौंमा मात्रै ४३ हजार २ सय ६५ संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा ९ हजार ९ सय ५२, भक्तपुरमा १ हजार ३ सय ५० र ललितपुरमा २ हजार ४ सय २० संक्रमित होम आइसोलेसनमा छन्। तीमध्ये ठूलो संख्या डेरावालको छ। डेरावालमध्येको ठूलो संख्या कष्टकर रूपमा समय बिताइरहेका छन्।

डेरावालमध्ये कतिपय कोठा लिएर बसेका छन्। त्यो पनि मिलेर। कतिपयले फ्लाटै भाडामा लिएका छन्। तर, प्रायःलाई चिन्ता भने उही छ– ‘घरबेटीले रिपोर्ट पोजिटिभ आएको थाहा पाए के गर्ने ?’ काठमाडाैँ गौशालामा डेरा गरी बस्ने रविन नेपाल (नाम परिवर्तन)लाई पाँच दिनअघि कोरोना पुष्टि भयो। संक्रमितको सम्पर्कमा आएपछि उनले परीक्षण गराएका थिए। तर, उनी डेराबाट निकालिने डरले घरधनीलाई भन्न नसकेको बताउँछन्। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।