अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन काठमाडाैं प्रशासनकाे आग्रह

होमल्याण्ड खबर

२०७७ कार्तिक ४ गते, मंगलवार १५:१७ मा प्रकाशित

काठमाडौंः  काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सर्वसाधारणलाई दसैँकाे समयमा अनावश्यक रुपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै व्यक्तिगत र सामूहिक सचेतता अपनाउन आग्रह गरेको छ । जो जहाँ छौं सोही ठाउँमा रहेर सादगीपूर्ण चाडबाड मनाउन कार्यालयले आग्रह गरेको छ ।

‘नेपालीहरुको महान चाड नजिकिँदै गर्दा जिल्लाभित्रै तथा देशव्यापी रुपमा मानिसहरुको आवतजावत तथा भिडभाडको कारण संक्रमणको जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकोले व्यक्तिगत तथा सामूहिक रुपमा सचेतता अपनाई जो जहाँ सोही ठाउँमा रही चाडबाड मनाउँ’, विज्ञप्तिमा भनिएकाे छ, ‘अति आवश्यक नभई घरबाट बाहिर ननिस्किउँ, घरबाट बाहिर निस्कनैपर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गराैं ।’

घरबाहिर निस्कनै पर्दा पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्डको अनिवार्य पालना गर्न प्रशासनको आग्रह छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेकाे सूचनामा चाडबाडका बेला आवतजावत र भिडभाड हुने भएकाले काम नपरी घरबाहिर ननिस्कन भनिएको छ ।

हेर्नुहाेस् सूचना