९ जेष्ठ २०८३, शनिबार
काठमाडौं: खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द भएपछि अब थापाथलीमा निःशुल्क खाना वितरण शुरू गरिने भएको छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई खुलामञ्चमा निःशुल्क खाना वितरण गरिँदै आएकोमा अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको हाे ।


खुलामञ्चमा निःशुल्क खाना वितरण गरेकोप्रति काठमाडौं महानगरपालिकाले आपत्ति जनाएको थियो । बुधबारदेखि काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरीक रूपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।
उनले भने, ‘ स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसैअनुरुप यो पहल गरिरहेका छौँ ।’
निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूसँग परामर्श गरेर अस्थायी रूपमा थापाथलीमा खाना वितरणको स्थान तोकिएको र आगामी दिनमा पार्टी प्यालेस वा अन्य थप व्यवस्थित ठाउँमा खाना वितरणको पहल भइरहेको उनकाे भनाइ छ ।