बालिका हत्या प्रकरणः प्रदर्शन नियन्त्रणमा प्रहरीले गोली चलायो, गोली लागेका घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइँदै

होमल्याण्ड खबर

२०७७ मंसिर ९ गते, मंगलवार १५:१९ मा प्रकाशित

बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भइरहेको प्रदर्शन नियन्त्रणमा नआउँदा प्रहरीले गोली चलाएको छ । प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका–५ का श्याम कार्की, वडा नम्बर १४ का अफताब आलम र बर्दिबासका ४३ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन् । घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ भने अर्का गम्भिर घाइते भएका एक बुद्धिराज न्यौपानेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

घाइते न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले बताएको छ। महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम बस्तीबाट हराएकी ६ वर्षीय बालिका गुलाब साहको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीयले हत्याको विरोध गरिरहेका हुन् । स्थानीयले बलात्कार हत्या भएको आशंका गरेका छन् । प्रदर्शनकारीले आरोपितको घरमा आगजनी गरेका छन् । प्रहरीले क्रममा भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।