८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौं महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने भएको छ । महानगरपालिकाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब ६ हजार ५०० टन धुलो जम्मा भएकाे छ ।
यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग महानगरपालिकाले छलफल गर्न थालेको हाे । हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।


कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको छ ।कामपाले हरेक दिन सात बु्रमरले सडक सफा गर्ने काम गरिरहेको छ । महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।
विसं २०७५ फागुन २८ गते इटालीबाट रु १० करोड ८० लाखमा ल्याइएका उक्त बु्रमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको हाे ।सडकका मुख्य स्थान नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ ।
दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् ।