संसद विघटन गर्ने कदम घोर असंवैधानिक र अलोकतान्त्रिक : नेपाल बार एशोसिएसन

होमल्याण्ड खबर

२०७७ पुष ६ गते, सोमबार १९:०९ मा प्रकाशित

काठमाडौं । नेपाल बार एशोसिएसनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम घोर असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

बारले आज सोमबार सरकारको उक्त निर्णयले देश अस्थिरतातर्फ जान सक्ने खतरा सिर्जना भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

बारले विज्ञप्तिमार्फत त्यस्तो गैरसंवैधानिक र गैरलोकतान्त्रिक कदमको नेपाल बार एसोसिएशन घोर विरोध र भर्त्सना गर्दै संविधानको पालना गरी पदीय मर्यादा कायम राख्न सम्बन्धित सबै निकाय र पदाधिकारीहरुलाई आग्रह समेत गरेको छ ।

यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाथि नै बज्रपात भएको जनाइएको छ । संविधानमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा मात्र संसद विघटन गर्न पाउने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।