१० मंसिर २०८१, सोमबार
एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । बुधबार राति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै रियलले सहज जित निकालेको हो ।
रियलका लागि कासेमिरो र करिम बेन्जेमाले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५७औँ मिनेटमा कासेमिरोले गरेको गोलसँगै रियलले सुरुवाती अग्रता लिएको थियो ।
यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा बेन्जेमाले गरेको गोलसँगै रियल मड्रिड २–० गोलले विजयी भयो । ला लिगामा रियलको यो लगातार पाँचौं जित हो ।
यो जितसँगै रियलले १५ खेलबाट ३२ अंक जोडेको छ । शीर्षस्थानमा रहेको एथ्लेटिको मड्रिडको पनि समान ३२ अंक नै रहेको छ । पराजित भएको ग्रानाडा भने २१ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।
यस्तै, ला लिगा अन्तर्गत बुधबार राति नै भएका अन्य खेलमा एलाभेस र रियल बेटिस विजयी भएका छन् । एलाभेसले एइबरलाई २–१ गोलले हराएको छ भने रियल बेटिसले काडिजलाई १–० ले पाखा लगाएको छ । यस्तै गेटाफे र सेल्टा डी भिगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।