८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौं: यस वर्षकाे एसईई परीक्षा आगामी जेठ महिनामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
२०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्ने उनकाे भनाइ छ । उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’


कोरोनाकाे महामारीका कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।
यस्तै एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए ।
सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।