९ मंसिर २०८१, आईतवार
जापान सरकारले सहुलियत ऋणमा बनाइदिन लागेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सरुङ खन्न सुरु गरेलगत्तै स्थानीयले अवरोध गरेका छन् । आयोजनाले सुरुङ खन्न थालेको समाचार बाहिरिएलगत्तै काठमाडौंतर्फका स्थानीय बासिन्दाले विभिन्न माग राखी अवरोध सिर्जना गरेका हुन् ।
चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा गएको टोलीले आइतबार आयोजनालाई आफ्ना मागहरुसहितको ज्ञापन बुझाउनुका साथै काम अघि नबढाउन चेतावनी दिएको छ । आयोजनाले भने स्थानीयको सबै माग आफूहरुले सम्बोधन गर्न नसक्ने जवाफ दिएको छ ।
स्थानीयको अवरोधका कारण आयोजना अन्योलमा परेको छ । स्थानीयले आफ्ना माग सम्बोधन गर्न दुई दिनको अल्टिमेटम पनि दिएको छ । उनीहरुले सुरुङमाथि आफूहरुको जमिन पर्ने भएकाले उचित क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका छन् । साथै, स्थानीयले आफूहरुलाई खानेपानीको व्यवस्था गरिनुपर्ने, कृषिको लागि सिंचाईको वैकल्पिक व्यवस्था गर्नुपर्नेलगायतका मागहरु राखिएका छन् ।
काठमाडौं प्रवेश गर्ने र बाहिरिने यात्रुहरुले नागढुँगा–नौबिसे खण्डमा निकै सास्ती भोग्दै आएको बेला बन्न लागेको सुरुङमार्गले केही राहत पुग्ने आशा लिइएको छ ।