१० मंसिर २०८१, सोमबार
संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले सुरक्षा तारबार भत्काएर संसद भवन छिरेर तोडफोड नै गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्पका समर्थकहरू संसद भवनभित्र छिरेर तोडफोड गरेका हुन् ।
ट्रम्पका समर्थकहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै संसद भवनका झ्यालढोकामा तोडफोड गरेका थिए । यसैबीच घटना नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ ।
संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्नुका साथै आक्रमण समेत गरेका हुन् ।
भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए । वासिङ्टनका मेयर मुरियल बोउसरले शहरमा १२ घन्टा लागि कफ्र्यू आदेश जारी गरेका छन् । बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।