नेपाली तीन क्रिकेटको टी -१० लिगमा कस्तो प्रदर्शन होला ?

होमल्याण्ड खबर

२०७७ पुष २३ गते, बिहीबार १०:४० मा प्रकाशित

काठमाडौं : युएईमा आगामी जनवरी अन्तिम सातादेखि हुने टी-१० लिगमा नेपालका तीन जना क्रिकेटर आवद्ध भएका छन्।

गतमहिना भएको ड्राफ्टमार्फत् तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी तथा अलराउन्डर कुशल मल्ल टी-१० टिममा आवद्ध भएका हुन्।

कुशल मल्ललाई टिम अबुधाबीले भित्र्याएको छ। कुशल पनि इमर्जिङ क्याटेगोरीमा रहेकाले १० हजार डलर पाउने छन्।

यता सोमपाल कामी मराठा अरेबियन्समा आवद्ध भए। उनले आफैंले ड्राफ्टका लागि फर्म भरेका थिए।

आफ्ना इन्डियन एजेन्टको सल्लाहअनुसार सोमपालले सी क्याटेगोरी (अलराउन्डर) मा आफ्नो नाम सामवेश गराएका थिए। यो क्याटेगोरीमा आवद्ध खेलाडीले २० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

करण केसी पुने डेभिल्समा आवद्ध भएका छन्। उनले पनि आफैंले फर्म भरेका थिए। करणले इमर्जिङ क्याटेगोरीमा आफ्नो नाम समावेश गरेका थिए। इमर्जिङको रूपमा आवद्ध हुने खेलाडीले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

करणले पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्। करण आवद्ध पुनेमा थिसरा परेरा, मोहमद अमीर, साम बिलिङ्ग्स लगायतका खेलाडी छन्।
टी-१० लिग आगामी जनावरी २८ देखि ६ फेब्रुअरीसम्म हुनेछ। लिगमा अबुधाबी, पुने, मरठासहित बंगला टाइगर्स, डेकन ग्लाडिएर्टस, क्वालन्डर्स, दिल्ली बुल्स र नर्थन वारियर्सबीच प्रतिस्पर्धा हुनेछ। सबै खेल अबुधाबीस्थित शेख जायेद क्रिकेट मैदानमा हुनेछ।

एक इनिङ्ग्स १० ओभरको हुने प्रतियोगितामा सुरूमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’ मा बंगला, दिल्ली, मराठा र नर्थन समावेश छन्। समूह ‘बी’ मा डेकन, पुने, क्वालन्डर्स र टिम अबुधाबी छन्।