९ मंसिर २०८१, आईतवार
चितवनको नारायणगढ–मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभरटेक बढी हुन थालेपछि सडक दुर्घटना बढेको छ ।
तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेक गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी उपरीक्षक राठोरका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि खटाइएको छ । साथै उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ । सवारी चालकले ट्राफिक नियम जान्दाजान्दै पनि लापर्बाही गर्नु विडम्बना भएको राठोर बताउँछन् ।