८ जेष्ठ २०८३, शुक्रबार
भारतमा काेराेना भाइरसविरुद्वकाे खाेप लगाएका दुई जनाको मृत्यु भएको छ । खोप लगाएकाे भाेलिपल्ट कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो ।
कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको हाे भने उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोरोना भाइरसविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ भने सात जना अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ ।
भारतमा जारी खोप अभियानमा तीन दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ । खोप लगाइएकामध्ये शून्य दशमलब २ प्रतिशतमा प्रतिकुल असर देखिएको हो ।
भारतले दैनिक ३ लाख मानिसमा खोप लगाउने तयारी गरे पनि तीन दिनमा जम्मा ३ लाख ८१ हजारलाई खोप दिन सकेको हो । पहिलो दिन तोकिएकोमध्ये ६४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । पहिलो चरणमा त्यहाँ सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ ।
त्यस्तै भारत बायोटेकले आफुले उत्पादन गरेको कोभिड–१९ विरुद्दको खोप कोभ्याक्सिन विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुले लगाउन नहुने बताएको छ ।
भारत बायोटेकले आफ्नो कम्पनीको वेवसाइडमा एक सूचना जारी गर्दै एलर्जीको समस्या भएका, रगत सम्बन्धी रोग भएका, ज्वरो आएका, रगत पातलो बनाउने औषधि सेवन गरिरहेका, इम्युनिटि बढाउने औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई कोभ्याक्सिन नलगाउन सल्लाह दिएको छ । साथै, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि भ्याक्सिन लगाउन नहुने भन्दै भारत बायोटेकले सचेत बनाएको छ ।