भारतले पठाएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो

होमल्याण्ड खबर

२०७७ माघ ८ गते, बिहीबार १२:५२ मा प्रकाशित

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ काठमाडौं आइपुगेको छ ।

खोप बोकेको एयर इन्डियाको जहाज बिहान ११‍‍‍: ५२ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको हो मुम्बईबाट दिल्ली ल्याइएको खोप त्यहाँबाट नेपाल ल्याइएको हो ।

उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन् ।

भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो । सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।

खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ ।

खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।