८ जेष्ठ २०८३, शुक्रबार
कोरोना भाइरसविरुद्धको खोप अभियान १४ गते बुधबारदेखि शुरु हुने भएकाे छ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ। सुरूमा ६२ वटा अस्पतालबाट खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। अस्पतालको संख्या बढ्न सक्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जनाकारी दिए। उनका अनुसार सबै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र बनाइने छ। उनले अधिकांश जिल्लामा बुधबारबाटै खोप लगाउन सुरू गरिने बताए।
काठमाडौं उपत्यकाका हकमा भने महाशाखाले खोप लगाउनलाई १७ वटा अस्पताल तोकेको छ। जसमा काठमाडौंका गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, टिचिङ अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, वीर अस्पताल, प्रसुति गृह, टेकु अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेज छन्। यसैगरी ललिपुरमा पाटन अस्पताल, किस्ट मेडिकल कलेज र आनन्द वन अस्पताल तोकिएको छ। भक्तपुरका कोरियन अस्पताल र भक्तपुर अस्पतालबाट पनि खोप लगाइने छ। उपत्यकाबाहेक चितवन, कास्की, रुपन्देही र मोरङजस्ता धेरै अस्पतालको संख्या भएका जिल्लामा पनि एकभन्दा बढी अस्पतालबाट खोप लगाइने महाशाखा प्रमुख गौतमले जानकारी दिए। बाँकी जिल्लाका हकमा भने जिल्ला अस्पतालबाटै खोप लगाइने उनले बताए।

