भैरहवा विमानस्थलमा स्थानीयको आन्दोलन फिर्ता

होमल्याण्ड खबर

२०७५ असार ६ गते, बुधबार ०९:४९ मा प्रकाशित

जग्गाधनीहरुलाई तत्काल मुआब्जा बाँड्ने सहमति भएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै भएकोे आन्दोलन फिर्ता भएको छ । मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले सोमबारदेखि विमानस्थलमा धर्ना दिंदै निर्माण कार्यमा अवरोध गरेका थिए ।
स्थानीयको आन्दोलनपछि विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले धर्नास्थलमै पुगेर बिहीबारदेखि २ अर्ब रुपैयाँ वितरण गर्ने र बांकी ३ अर्ब रुपैयाँ पछि वितरण गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।
आयोजनाका प्रमुख ओम शर्माका अनुसार करिब २३ अर्ब मुआब्जा रकम वितरण गर्नुपर्ने हालसम्म ६ अर्ब रुपैयाँ मात्र मुआब्जा वितरण भएको छ । आयोजनाका अनुसार जग्गा अधिग्रहणमा परेका करिब २ हजार ३ सय परिवारमध्ये हालसम्म करिब ८ सय जनालाई मुआब्जा वितरण गरिएको छ । हाल विमानस्थल निर्माणको काम द्रुत गतिमा भइरहेको र करिब ५० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख शर्माले बताए ।