पारिवारिक दुश्मनीका कारण भागरथीकाे हत्या

होमल्याण्ड खबर

२०७७ फाल्गुन ५ गते, बुधबार १३:२४ मा प्रकाशित

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टेका दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ परेकाे दिनेश भागरथी पढ्ने विद्यालय सनातन धर्म माविकै कक्षा ११ मा अध्ययनरत रहेकाे बताइएकाे छ।  घटना गराएकाे आशंकामा दिनेशलाई सुरुदेखि नै प्रहरीले निगरानीमा राखेको थियो । उनलाई पटकपटक बाेलाएर सोधपुछ गरेपछि प्रमाण जुटेपछि नियन्त्रणमा लिएकाे सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी मुकेश सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार भागरथीको हत्यापछि भएकाे प्रदर्शनमा दिनेश पनि सहभागी भएका थिए । उनी नियमित विद्यालय पनि गइरहेकै थिए ।

‘प्रहरीलाई देख्दा भने उनी डराए जस्ता देखिन्थे’, एक प्रहरी अधिकारीले भने । पक्राउ परेका भट्टले आफूले भागरथीकाे हत्या गरेकाे स्वीकारेका छन् ।

भागरथी र आफूबीच पारिवारिक दुश्मनी रहेको र साेही कारण उनकाे हत्या गरेकाे बयान दिएकाे प्रहरीले जानकारी दिएकाे छ । विद्यालयबाट फर्किँदै गर्दा भागरथीकाे पछि लागेका दिनेशले निर्जन जंगलको बीचमा पुगेपछि भागरथीलाई ठेलेर कान्लामुनि लडाएका थिए ।

लडेपछि प्रतिकार गर्न नसकेकी भागरथीलाई बलात्कारपछि भट्टले घाँटी थिचेर मारेको प्रहरीकाे दाबी छ ।

२१ माघमा विद्यालयबाट घर फर्कँदा भागरथी बेपत्ता भएकी थिइन् । त्यसकाे भाेलिपल्ट अर्थात् २२ गते उनकाे शव खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा भेटिएकाे थियाे ।

 

यसैबीच, पक्राउ परेका दिनेशविरुद्ध प्रहरीले म्याद थपको तयारी गरेको छ । उनलाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।