राजालाई जस्तो विशेषाधिकार प्रधानमन्त्रीलाई छैनः वरिष्ठ अधिवक्ता शाक्य

होमल्याण्ड खबर

२०७७ फाल्गुन ६ गते, बिहीबार १५:५३ मा प्रकाशित

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट आफ्नो राय दिँदै उनले तत्कालीन राजालाई जसरी अहिलेको संविधानलेप्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको स्पष्ट पारेका छन् ।

वरिष्ठ अधिवक्ता शाक्यले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताए ।

उनले अहिले लिखित संविधानमा रहेको उल्लेख गर्दै भने, ‘‘हामी लिखित संविधानमा छौँ । लिखित संविधानमा कुनै पनि निकायको अधिकार सीमित हुन्छ । सीमा नाघेर काम गरे नगरेको हेर्नुपर्ने हुन्छ।  तत्कालीन राजाको विशेषाधिकारबाट पीडित राष्ट्र भएकाले त्यो अधिकारलाई अहिलेको संविधानले लिमिट (सीमित) गरिदिएको छ ।’

जनताले संविधानसभामार्फत विशेषाधिकार पावरलाई सीमित गरेर संविधान बनाएको भन्दै उनले संविधानले नदिएको अधिकार प्रयोग गर्ने अधिकार प्रधानमन्त्रीमा नहुने तर्क गरे ।