७ जेष्ठ २०८३, बिहीबार
बारपाक सुलीकोट गाउँपालिका –१ स्थित धामीटोलमा एकै घरका तीनजना मृत अवस्थामा भेटिएका छन्।
एउटै घरमा सुतेका एकजना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका (छोरीकी छोरी) आज (मंगलबार) बिहान मृत अवस्थामा भेटिएका हुन्।


८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आईतकुमारी गुरुङ र नातिनी ३ वर्षीया उषा गुरुङ मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिए ।
बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को घरमा बस्दै आएकी बुहारीले ढोका खोलेर हेर्दा तीनैजना मृत अवस्थामा भेटिएको स्थानीयलाई उद्धृत गर्दै लौडारीले बताए ।
मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरी निरीक्षक लौडारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ।