बारपाक घटनाको निष्पक्ष छानबिन होस्ः डा भट्टराई

होमल्याण्ड खबर

२०७७ फाल्गुन १० गते, सोमबार १३:५४ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले गोरखाको बारपाकमा एकै घरका तीनजना मृत अवस्थामा भेटिएको घटनामा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका डा.भट्टराईले आज सामाजिक सञ्जाल ट्विटरमार्फत घटनाको निष्पक्ष र तथ्यगत छानबिनको माग गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘ज्यादै दु:खद घटना ऐतिहासिक बारपाक-सुलीकोटको! घटनाको निष्पक्ष र तथ्यगत छानवीन होस्! शहर मात्र हैन गाउॅघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं! हार्दिक श्रद्धान्जली/समवेदना !

बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएका थिए ।

मृत अवस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिए ।