प्रधानमन्त्री ओलीले गरे दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

होमल्याण्ड खबर

२०७७ फाल्गुन १० गते, सोमबार १५:४७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी –छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली काठमाडौँबाट श्रीएयरलाइन्सको उडानमार्फत धनगढी पुगेका थिए ।

त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले आज (सोमबार)  दिउँसो वेदकोट नगरपालिका २ र ३ मा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट,सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना,वन तथा वातावरण मन्त्री प्रेम आले र श्रम मन्त्री गौरीशंकर चौधरी समेत आएका छन् ।

झण्डै २६ वर्षअघि २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलामा औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो । त्यसबेला केही बजेट विनियोजन भए पनि निकुञ्जको क्षेत्रभित्र पर्ने भन्दै काम सुरू हुन सकेको थिएन ।

९ अर्बको लगानीमा ५ वर्षभित्र निर्माण सक्ने योजना रहेको औद्योगिक क्षेमा ठूला, साना, मझौला गरी एक सय भन्दा बढी उद्योग खोल्न सकिनेछ । सो औद्योगिक क्षेत्रबाट २२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।