क्रोएशियासँग पराजित भएसंगै अर्जेन्टिनाको अन्तिम १६ को यात्रा कठिन

होमल्याण्ड खबर

२०७५ असार ८ गते, शुक्रबार ०५:५४ मा प्रकाशित

गत संस्करणको उपविजेता अर्जेन्टिना समूह डी अन्तर्गतको खेलमा क्रोएशियासँग पराजित भएको छ । यो हारले लियोनल मेस्सीको टोली अर्जेन्टिनाको नकआउट चरणको यात्रा कठिन बनेको छ । क्रोएशिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ ।
उपाधिको दावेदार अर्जेन्टिना क्रोएशियासँग ३(० गोलले पराजित भयो । उसका लागि रेविक, राकिटिक र मोड्रिकले एक एक गोल गरे ।

अर्जेन्टिनाले निज्नी नोभोगाड रंगशालामा बिहीबार राति निक्कै कमजोर प्रदर्शन गर्यो । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी पूरै असफल देखिएको यो खेलमा पहिलो हाफ बराबरी खेले पनि दोस्रो हाफको सुरुमै क्रोएशियाले अग्रता लियो ।
गोलरक्षक विली कावालेरोको गम्भीर गल्तीमा अर्जेन्टिनाले गोल खान पुगेको हो । ब्याकपास कलेक्ट गरेर डिफेण्डरलाई पास गर्न लाग्दा उनले क्रोएशियाका एन्टे रेविकलाई पास दिन पुगेका थिए । उनले शानदार भली गोलमार्फत टोलीलाई अग्रता दिलाए ।
८१औं मिनेमा क्रोएशियाका कप्तान लुका मोड्रिकले डिबक्स बाहिरबाट सुन्दर गोल प्रहार गरे । यसपटक अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरी मोड्रिकले उठाएका थिए ।
खेलको इन्ज्यूरी समयको पहिलो मिनेटमा मिडफिल्डर इभान राकिटिकले बार्सिलोनाका आफ्ना टिममेट मेस्सीको टिमबिरुद्ध तेस्रो तथा विजयी गोल गरे ।
जितसँगै क्रोएशियाको ६ अंक भएको छ भने उसले नकआउट चरणको यात्रा पक्का परेको छ । समूह डीमा २ खेलबाट अर्जेन्टिनाको १ अंक छ । आइसल्याण्डको १ अंक छ र नाइजेरिया अंकबिहीन छ । शुक्रबार नाइजेरिया र आइसल्याण्डबीचको खेलले अर्जेन्टिनाको भविश्य निर्धारण गर्नेछ । त्यतिले मात्र पुग्दैन समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनैपर्छ ।