‘बलियो’ ब्राजिल विरुद्ध औसत कोष्टारिका

होमल्याण्ड खबर

२०७५ असार ८ गते, शुक्रबार ०६:१३ मा प्रकाशित

विश्वकप अघि ब्राजिललाई विश्वकपको सबैभन्दा बलियो दावेदारको रुपमा हेरिएको थियो । तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेसँगै ब्राजिलको पहिलो विश्वकप यात्रा अपेक्षित रहेन ।
त्यही ब्राजिलले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा शुक्रबार महादेशीय प्रशिद्वन्द्वी कोष्टारिकासँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ । समूह ई बाट ब्राजिल र कोष्टारिका आमने सामने हुँदा आजै यही समूहको सर्बिया र स्वीट्जरल्याण्डको खेल पनि हुँदैछ ।
विश्वकपको सुरुआती खेलमा भोगेको अनपेक्षित बराबरी र नेइमारको फिटनेसका बारेमा आएका अनर्गल हल्लाहरुको बीचमा ब्राजिलका सुपरस्टार मिडफिल्डर फिलिप काउटिन्होले ब्राजिल र उसका समर्थकलाई धैर्य रहन आग्रह गरेका छन् ।
बार्सिलोनाका प्लेकेमर काउटिन्होले स्वीट्जरल्याण्डबिरुद्धको पहिलो खेलमा पहिलो हाफमै शानदार गोल गरी उच्च लयमा रहेको टिटेको टोलीलाई अग्रता दिलाएका थिए । तर, युरोपेली टोलीका स्टेभन जुवेरले ५०औं मिनेटमा बराबरी गोल फर्काए ।
यता कोष्टारिका पहिलो खेलमा ‘ग्रुप पेससेटर’ सर्वियासँग १–० ले पराजित भएको थियो । अलेक्जान्दर कोलासोभले शानदार फ्रिकिक गोल गरेपछि ओस्कार रामिरेजको टोली पराजित हुन पुगेको थियो ।
विश्वकपको अन्य खेलहरुजस्तै यो खेल पनि कठिन हुनेछ ।