कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यावस्था सुधारोन्मुख

होमल्याण्ड खबर

२०७७ फाल्गुन १६ गते, आईतवार १५:४५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ ।

नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा.राजीव झाले जानकारी दिए । उनले जोशीको अवस्था अझै खतरामुक्त नभएपनि सुधारोन्मुख भएको बताए ।

जोशीलाई बिहीबार राति शरीरको देब्रे पट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियो ।

जोशीको अहिले आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउन थालेका छन् भने जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि जोशीका आँखा भने खुलेका छैनन् ।

जोशीको आज सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ।