आज देशभरका अदालतमा शोक बिदा

होमल्याण्ड खबर

२०७७ फाल्गुन २० गते, बिहीबार ०८:४६ मा प्रकाशित

आज देशभरका अदालतहरु बन्द हुने भएका छन् ।  पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाइने भएकाले आज देशभरका अदालत बन्द रहने भएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा हिजो (बुधबार) बसेको सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए । उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।

संविधान र कानूनका क्षेत्रमा दख्खल राख्ने निर्भिक, अत्यन्त मिलनसार स्वभावका स्व सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व थिए।