७ जेष्ठ २०८३, बिहीबार
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदै छ । दोस्रो चरण अभियानको त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी ओलीले खोप लगाएर शुभारम्भ गर्नेछन् । दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिका व्यक्तिलाई खोप दिइने छ । खोप विहान १० देखि अपराह्न ४ बजेसम्म विभिन्न खोप केन्द्रहरुमा लगाइने छ ।
यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने जनाइएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ६५ वर्षमाथिका १८ लाख नागरिक छन् । तर, सरकारसँग अहिले १५ लाख डोज मात्रै खोप रहेको छ । कोभ्याक्स सुविधामार्फत आइतबार आउने तीन लाख ४८ हजारसमेत गरेर यो उमेर समूहलाई पहिलो डोज लगाउन पुग्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ ।
पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।